kavita

कविता

" हातहरु आर्तनादमा...!"

दिग्भ्रमित सपनाहरु पालेर
छाँया पाउने आशमा
बर-पिपल रोप्न
अभ्यस्त हातहरु
मूल बाटोमा
रगतपच्छे हुनेगरी
बाङ्गो काँढाले
घोचिदिएपछि
के गुनासो गर्नु कठै
बयर बनेका बर हरु सँग,
साबिक आयतनमा ठिङ्ग
प्रत्येक भित्ताका झ्यालहरु
र झ्यालका भित्ताहरु
मौनाकृतिमग्न
थाम,निदाल र दलिनहरु
निर्जिव कोठाका
चार दिवालहरु
मेरो उचाईको
मेरो फैलावटको
बर्खास्ती चाहन्छन् भने
के भरोसा गर्नु बरै
सँगै हिंड्ने सहयात्रीहरु सँग,
बिचार को पिण्ड नै त हो
भ्रम
सोचाईको खुम्चाई नै त हो
शंका
त्यो त्यसै मर्छ
बिष ठानेर अमृत पिउने
अबिश्वासले धावा बोलिएको
मेरो विश्वासको ईलाका
निषेधित क्षेत्र
घोषित हुन्छ भने
कस्तो ज्ञापन पत्र पेश्नु खै
भेट हुने चौतारीमा
कर्फ्यु लगाउने मनहरु सँग,
सेकेण्ड-सेकेण्ड मा
गठन-बिगठन भईरहने
सम्बन्धका समितिहरु
लवी,खेमा र बादमा
विभक्त हुन्छन् जब
जिन्दाबाद र मूर्दाबादमा
रुमालिएका
अस्पष्ट सिद्दान्तहरु
दृष्‍टिकोणहरु
मेरै खिलापमा हुन् भने
के सार मिल्ला र खै
प्रतिद्वन्दी बनेका हातहरु सँग,
यदी सहनुको नाता
शान्ती सँग छ भने
बरु,
पोलिरहोस्
भग्न मुटु
आफ्नै सूरमा
बरु,
दुखिरहोस्
निर्दोष मन
वेहोसीमा
बरु,
चहर्याइरहुन
यी अपजसे हातहरु
आर्तनादमा...!

-गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग्-४, भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin