कबिता


म कबिता लेख्दिन
कतै भित्र त्रिकालदर्शी चक्षु छ कि ?
यी कानका लोतीहरुले पनि 
फर्किएर कानका प्वालहरु छोपेका छैनन्
देख्छु, सुन्छु, निफन्छु केलाउँछु
बिश्रृखलताहरु, बिभेदहरु, कुमार्गहरु
जब अन्तस्करणलाई भत्भति पोल्न थाल्दछन्
तब म गर्भ धारण गर्छु
मेरा कोखमा अनेकौँ बिचारहरुका भ्रुण पलाउँछन्
यथोचित अवसर पारेर
म तिनलाई जन्माईदिन्छु
रुपवान, कुरुप जे जस्ता छन्
ती मेरा सन्तान हुन्
मेरा कविताहरू यस्तै छन्
मेरा कविता तिमीलाई बिभत्स लाग्छ भने
मेरा कविताले तिम्रो सोचसँग बेमेल खान्छन् भने
भो सखी
म कविता लेख्दिन

तिमीलाई पक्कै सम्झना होला
मैले भनेथेँ
हरेक सृष्टि नाङ्गो जन्मन्छ
मेरा कविताहरू पनि नाङ्गै जन्मन्छन्
नाङ्गै जन्मदा लाज मान्दैनन्
नग्नताको सीमा त हाम्रो सोचले कोरिदिन्छन्
आवरणहरु त हाम्रा मस्तिष्कका उपज हुन्
तिम्रो धारणाका पहिरनहरु
मेरा लागि बिषाक्त सिउँडि हुन्
यसका असरले मेरा रोमरोम सुन्निन थाल्छन्
तब म नीलकण्ठाधारीझैँ चुपचाप सहन सक्दिन
र असैह्यतामा कविता ओकल्छु
मेरा कविताले उल्टो बिषबमन गरिदिन्छन्
सिउँडिका एन्टिडोट बनेर उभिन्छन्
यसले तिमीलाई पोल्छ भने
भो सखी
म कविता लेख्दिन

तिम्रा वादका अँध्यारा गुफाहरु
तिम्रा सिद्धान्तका साङ्लाहरु
तिम्रा बिभेदकारी दर्शनका पिँजडाहरु
तिम्रा अमानविय नियमका झ्यालखानाहरु
ज्यादै सानो छ सखी
मेरा कवितालाई अचेट्न
मेरा कविता फूल हुन्
जन्मजात सुगन्ध बोकेर जन्मन्छ
मेरा कविता झरना हुन्
बेग मारेकै हुन्छ
मेरा कविता पवन हुन्
प्राणवायु समान हुन्छन्
मेरा कविता सिङ्गो सूर्य हो
अन्धकार भक्षण गर्छ
मेरा कविताका यावत् गुणहरुमा
तिमी विवेकहीन बिमति र रोष राख्छौ भने
भो सखी
म कविता लेख्दिन
म कविता लेख्दै लेख्दिन |


समा श्री
काठमाडौ नेपाल।

हाल: ईजरेल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin