kavita

कबिता


\\काठमाडौँ भित्रको काठमाडौँ//

थानकोटबाट छिरेर
रत्नपार्कको पेटीमा उनिएका
भर्जिन सपनाहरु
आन्देलनको ढुङ्गाले फोरिएको
बसको काँच जसरी
झल्र्याम झुर्लुम तोडीदिन्छौ
साँगाभञ्ज्याङ्ग हुँदै भित्रिएका
सहरीया रहरहरु
बसपार्क पुग्न नपाउँदै
चक्काजामको आगोले सल्किएको
थोत्रे टायर झैँ
ह्वार ह्वार्ती डडाइदिन्छौ
नत्र,
ठमेलको मसाज पार्लरमा
चाइनिज माल झैँ विक्रिमा राखीदिन्छौ
काठमाडौँ,
काठमाडौँ भित्रको काठमाडौँ
आखिर किन तान्छौ ?
सपनाहरु, रहरहरु
यदी उडाउनै भने,
टुक्राउनै हो भने
किन देखाउँछौ फोस्रा आश ?

इश्वर खोज्दै पशुपति धाउनेहरुलाई
मेलम्चीको वास्नाले सुगन्धित
बाग्मतिमा चोबालेर नाङ्गै लखेट्छौ
बुद्धलाई सम्झेर स्वयम्भु छिर्नेहरुलाई
हिटलरको फोटो झुण्डाइएको
वीवीक्यू होटलमा सेकुवा चखाउँछौ
मस्जिदमा शीर झुकाउनेहरुलाई
मन्दीर अगाडी गाई काट्न लगाउँछौ
चर्चमा क्यान्डल बाल्नेहरुलाई
वस्तीको उज्यालो खोस्न सिकाउँछौ
काठमाडौँ,
काठमाडौँ भित्रको काठमाडौँ
कस्तो धर्मको परिकल्पना गर्दैछौ तिमी ?

चिल्ला गाडीमा चढेर
नाङ्गो पैतला खियाउनेहरुलाई डोर्याउन खोज्छौ
जोनी वाल्करले नुहाएर
ढल पिउनेहरुको स्वास्थ्य जाँच्छौ
पाँचतारे स्वादले अघाएर
जुठो सीता निल्नेहरुको कथा लेख्छौ
सिंहदरबारमा ठाँटिएर
कर्णालीको भाग्य कोर्ने तिम्रो आकांक्षा
कहिले पुरा हुँदो हो
घरको छाना उडेको बेला
तिमी लभ पार्कको खाँचो देख्छौ
खै के गर्न खोजेका हौ तिमीले
बुझ्नै सक्दिन
तिमी बुझाउँछौ
काठमाडौँ,
काठमाडौँ भित्रको काठमाडौँ

तिम्रा गल्लीहरु
चेलीका नितम्ब चियाउँछन्
तिम्रा चेलीहरु
छोपीने छाला देखाएर हिँड्छन्
बसका सिट माइक्रोका ढोका
पर्खेका हुन्छन् भरिएका खल्ती
विलासी तिम्रो महलभित्र
लास कुहिएको पत्तो हुँदैन तिमीलाई
बरु स्याउले टहरालाई अपराधी देख्छौ
खै कस्तो आँखा हो तिम्रो ?
झुत्रे झात्रेलाई सुकिला मुकिला देख्ने
कोही गिद्धको नहर भन्छन्
कोही सिद्धको सहर भन्छन्
अचम्मको तिम्रो पहिचान
काठमाडौँ,
काठमाडौँ भित्रको काठमाडौँ

तिम्रो बनोट झैँ,
तिम्रा सडक पेटी झैँ,
तिमी भित्रको वस्ती झैँ
कंक्रिट तिम्रो मन
क्रुर अनि कठोर
काठमाडौँ,
काठमाडौँ भित्रको काठमाडौँ
आवरणमा सजिएर
रङ्गिएर, फक्रिएर
भित्र भित्रै कत्लाले कुहिएर
दङदङ्गी गनाइरहेको
छी काठमाडौँ,
काठमाडौँ भित्रको काठमाडौँ

याक्दुहाङ्ग धिरज
भोजपूर, हालः विराटनगर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin