कविता

 - गणेश खड्का
कविता   :   म यस्तो युग रच्न चाहन्छु                                                             
 
व्यस्त जीवन
बन्द सडक
र निषेध यात्रा...
जिन्दगीको एउटा छेउ यो,
पेटप्रतिको न्यायमा
निर्विकल्प जोतीईरहनु
विवश डायस्पोरा बाँच्नु
जीवन भोगाईको अर्को पाटो फेरी,
बग्रेल्ती मान्छे जस्ता लाग्ने मान्छेहरुको भिडमा
अन्तहिन जीवनसंघर्ष,भोगचलन र उद्देश्यको
एक चिर्कटो शारांश मेनुफेस्टो
कसैले सुनोस/नसुनोस् - सही
कसैले वास्ता गरोस्/नगरोस् - सही
कसैले खिसीट्यूरी गरोस् - त्यो पनि सही...
आफ्नै एकल रोहवरमा
आफ्नै अघिल्तिर
स-विस्तार प्रस्तुत गर्न चाहन्छ
मेरो युग द्रष्टा मन !
 
यद्यपी, यतिबेला ,-
थुप्रै जिउँदा लाशहरुको किनारमा  उभिएर
मेरो भोको पेट कुतकुती लाउँछ
मेरो नाङ्गो आङ कुरिकुरी गर्छ
तर नबिन ईतिहासको खाका कोर्ने मेरा हातहरु
उत्साहको चारकोशे क्षितिज ताकिरहेकाछन्
गलानी फाटेका मेरा कुर्कुच्चाहरु
सिर्जनशिल शिखर आरोहणमा लम्किन चाहन्छन्
तिमीहरु जेसुकै भन, जत्तिसुकै भाँजो हाल
मलाई त्यही व्यस्त जीवन मन पर्छ
मलाई त्यही निषेध यात्रा गर्नुछ
निरन्तर-निरन्तर,...अविच्छिन्न-अविच्छिन्न...!
 
टपर्टुईयाँ भएर तिमीहरु
झरिला तोरिहरुमा तेल देख्दैनौ
तर पानीबाट आगो झिक्ने योजना बुन्दैछु म
अल्छे भएर तिमीहरु
आँगनको डिल परदेश देख्छौ
तर मेचीकाली हत्केलामा जुरुक्कै उचाल्न खोज्दैछु म
मान्छे मार्न , प्राण हत्या गर्न
तिमीहरुले प्रयोग गर्ने गरेका ढुङ्गे हतियारहरुमा
म जाँतो र खलका सिर्जनशिल आकृतिहरु देख्छु !
 
के भन्छौ तिमीहरु ?
मैले मङ्सिरमा अनिकालको अनुभव धानेकोछु
सिरेटोमा नाङ्गो आङ सेक्नुको व्यथा भोगेकोछु
खाली खुट्टा तुषारो टेक्नुको पीडा सहेकोछु
अतिरिक्त फजुल समयको व्याज डकार्छौ तिमीहरु
उधारोमै पल-पल,बुँद-बुँद पसिना रोप्छु म
पाइखानाछेउमा उम्रिएर के फुर्ती लाउँछौ तिमीहरु ?
गुह्य मलिलोमा खस्नु,...उम्रिनु,...हलहलिनु,...मर्नु,..........
घाम लाग्दा लतक्कै ओइलिन्छौ तिमीहरु
पानी पर्दा गुहु सँगै बग्छौ तिमीहरु
सुतुतुतुतुतुतुतुतुतुतुतुतुतुतुतुइतुतु,.........जरै समेत
छि,.....................तिमीहरुको रछाने अस्तित्व
थूक्क,...............तिमीहरुको महत्वहिन उचाई !   
 
तर म पिपल हुँ,चट्टान फोरेरै निस्किन चाहन्छु
तिमीहरु पेन्टागन र ट्वीनटावर विचरण गर्छौ
विलासी चश्माहरुमा शौखिन आँखाहरु घुमाउँदै
श्रापित करमा आयातित वायुयानका भेन्टिलेशनबाट
र कथित सम्भ्रान्त जीवनशैली भोग्छौ
म बागमतीको किनारबाटै
सगरमाथाको टोपी ओढेर
धरहराको टुप्पो छुन चाहन्छु/सक्छु !
 
तिमीहरु दुध पिएर विष बान्ता गर्छौ
प्रतिशोध रोपेर क्रोध जन्माउँछौ
प्रतिहिंसामा शान्ती भड्काउँछौ
बिध्वंशमा हास्यास्पद नवनिर्माणको सपना देख्छौ
बिखण्डन र द्वेषको कात्रो ओढेर
भाईचारा र सद्भावको पाखण्डी राग अलाप्छौ
तर म तिमीहरुका यावत
तपशिलका मान्यताहरुदेखी
विपरित ध्रुबमा छु, फरक कोणमा छु, अलग धारमा छु !
 
तिमीहरु नजिकको तिर्थ हेला देख्छौ
म टाढैबाट ध्रुब तारा चम्किलो नियाल्छु
तिमीहरु सूनलाई पित्तल बनाउन उद्दत छौ
म माटोमा हिरामोती भेट्दैछु
तिमीहरु भोकाहरुलाई आश्वासन उपहार दिन्छौ
म कमसेकम सातु बाँड्न चाहन्छु
तिमीहरु अन्धाको देशमा ऐनाको व्यापार गर्छौ
सकेसम्म ज्योति दान गर्न चाहन्छु म
आँफै डाढु-पुन्यौ हातमा लिएर तिमीहरु
भाँडो रित्याएको दोष अरुमाथी थोपर्छौ
तिमीहरुको स्वनियन्त्रणमा लमतन्न सिङ्गो समय
सेकेण्ड-मिनेट,दिन-हप्ता,महिना-वर्ष,दशक-शताब्दी
तिमीहरुको रसिलो,भरिलो, झरिलो याम
तिमीहरु अधिनस्थ पेवा आयु
सिर्फ बेढङ्गी छ, निस्काम छ, निश्फल छ !
 
तर म ,
बन्दकी समयका छोक्राहरु निचोरेरै
यस्तो एउटा सन्जीवनी झोल निकाल्न चाहन्छु
जसको सेवन जीवनदायी बनोस्
जसको प्रयोग प्रेरणादायी बनोस्
म यस्तो एउटा युग रच्न चाहन्छु
जहाँ मान्छेद्वारा मान्छे सताइने छैन
जहाँ मान्छेसँग मान्छे डराउनु पर्ने छैन
जहाँ अभावले कोही मर्ने छैन
जहाँ मिती नपुगी काल आउने छैन !!!
 
 
तिवारी भञ्ज्याङग-४, भोजपुर
हाल: फ्रिगेट आइल्याण्ड , सेसेल्स
१ फेब्रुअरी २०११

1 comment:

  1. सारै सुन्दर कविता, वास्तविकताले परिपूर्ण। के म यो कविता लेखकको नाम उद्धृत गरेर मेरो फेसबुक स्टेटसमा राख्न सक्छु?

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin