kavita

कबिता

"हर्केको अवतार"


तीनचारवटा मोबाईल खल्तीमा बोकेर िहंड्छ
आफूलाई ब्यस्त देखाउन फोन रिसिभ गर्दैन
चल्ता पुर्जा जान्ने हुँ भन्ठान्छ एउटा हर्के
हरेकलाई मिस कल गर्छ
उताबाट कलब्याक आउने प्रतिक्षामा बसेर
पैसा जोगाएको हिसाब गर्छ अर्को बाठो हर्के ।
साथीको श्रीमतीलाई
बहिनी नानी र छोरीको सम्बोधन गर्छ एउटा बेसरम हर्के
दिदी भाउजु बहिनीको नाता लगाउँदै
तिनैप्रति आशक्ति देखाउँछ अर्को बेइमान हर्के ।
समस्या देखाएर साथीभाइसँग पैसा सापट माग्छ
त्यो पैसा अर्कोतिर ब्याजमा लगाएर
रातारात धनि बन्ने सपना देख्छ एउटा हर्के
कमाई भन्दा धेरैको आम्दानी बताउँछ
नेपालमा गाडी बंगाला नोकर-चाकर भएको बखान लाउँछ
अठार घण्टा काम, छ घण्टा आराम गर्छ
आफूलाई खान्दानी धनिमानी बताउँछ अर्को हर्के ।
सामान्य शिष्टाचार जान्दैन न त राजनैतिक संस्कार नै थाहाछ
हरेक ठाउँमा राजनैतिक रंग मिसाउँछ
बाँकी सबैलाई राजनीतिले धमिल्याउँछ एउटा हर्के ।
आफूलाई राजनीतिको चतुर खेलाडी सम्झन्छ
नेपालबाट कोही नेता आए कि सँगै बसेर फोटो खिचाउँछ
विदेशमै आएर राजनीति थाहा पाएको भन्छ
यहाँ बसेर नेपालमा सांसद हुने सपना देख्छ अर्को हर्के ।
अपरम्पार छ हर्केहरुको युरोपियन अवतार
जयनेपाल लालसलाम कोटी-कोटी नमस्कार !


कुम शाही,ब्रसेल्स, बेल्जियम

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin