kavita

कबिता...!


-जिन्दगी-

समयका पानाहरुमा मानव आक्रोश पोखिए
मूर्दावाद र जिन्दावादका नारा लेखिए
थुप्रैको पुत्ला सल्काइए
जिन्दगी त्यहाँ उभियो, विना रङ्ग
ऊ शालिक जस्तै
मौन, स्थिर उभिरहेछ
अब जिन्दगीको नयाँ रङ्ग पोखिनुपर्छ ।
ऊ कञ्चन आकाश हेरिरहेछ,
जिन्दगी,
सङ्लो पानी छातीमा लिएर बगेको तमोर जस्तै बग्नुपर्छ,
सेताम्य हिऊँ पहिरिएर हाँस्ने सगरमाथा
कहिल्यै गुनासो पोख्दैन,
छाती भित्र हिमनदी बगाएर,
प्रत्येक विहान घामको रक्तिम किरणहरु
पछारिएरसँधै हाँसीरहेछ सगरमाथा
हिऊँभित्र लुकेर पनि
उसले गुनासो कहिल्यै गरेन।
ऊ हाँसिरहेछ,सेतो गुलाफ जस्तै
घामका किरणले गर्दा
चम्किला बनेका मूर्तिवत्,
हिमशिखरहरु सामु उभिएर
प्रश्न गर्न मन लाग्छ,
जिन्दगी आक्रोश र आवेग लिएर बाँच्छ किन ?
तमोरको सङ्लो पानी
कञ्चन आकाश
शालिक जस्तो स्थिर
जिन्दगी शान्ति किन हुन सक्दैन ?
जिन्दगी आकाश जस्तै कञ्चन
तमोरजस्तै सङ्लो हुनुपर्छ ।
.
झमक घिमिरे
धनकुटा, कोशी, नेपाल,

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin