kavita

कविता........



"नयाँ भगवान"


अरबौं आस्थाहरु ओढिओढी
अनाम तलाउको डिलैडिल
घुमिरहेछ भगवान

दर्शकबिना
सुपरहिट सर्कसघर
आफै आफ्नो सर्कसमा मग्न छ
सिनेमाका टिकट
मनाइरहेछन बन्द बाकसमै " हाउसफुल्"
चिडियाखानामा जनावरहरु
आहारा ट्क्रयाउने लोपोन्मुख कर्मचारीलाई
घुरेर अवलोकन गरिरहेछन

सारा मान्छेहरु भगवान सँग
अनाम तलाउको उही ठेगानामा
अविरल गाँसिरहेछन
चाखलाग्दो पत्र-मित्रता

परेवा च्यापेर पेरुङ्गोमा
पस्छ भगवान भाकल सम्झिँदै
आफ्नै धर्मालयको उकुसमुकुसमा
मुर्तिको जलपमा रगत घोट्दै
लेख्छ पहिलो प्रेमिकालाई
अन्तिम चिठी
फोडेर पक्लक्क छाती
मन लाग्छ राखिदिउँ मध्य सहरमा
पिडाको प्रदर्शनी

भगवानलाई
शिखर-प्यागोडा-गुम्बजको भारले
उम्किन मन लाग्छ
यो के भएको हो ....
डुब्दाडुब्दै यी रमिताहरुको भक्तिलीलामा
एकसुर सालिक भएर ट्क्क
भगवानमा रुपान्तर भएका छन
यी मान्छेहरु ।

जोतारे धाइबा, नक्साल ,काठमाडौं

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin