kavita

कबिता




सोमदत्त जवाफ देऊ!

सोमदत्त ! तिमी छैनौ अब
जिन्दगी तिमीबाट हिउँजस्तै पग्लिएको छ
पानी जस्तै बगेको छ
बाफ जस्तै उडेको छ
तिम्रा सारा चैतन्य
आकाशका खेतिमा ब्यग्र छन
हिमाल जस्तै अटल
नदी जस्तै गतिवान
समुन्द्रजस्तै सौम्य तिम्रा कलकलाउँदा आस्थाहरु
दाँत फुक्लेका बुढासँग पोइल गइसके
सोमदत्त!
तिमीलाई किन ढाँट्नु ?
तिमी एक्लो छौ
नितान्त एक्लो
तिम्रो आकाशे निलो फूल
चिथ्रा-चिथ्रा भएको छ
जिन्दगी अलग्गिसक्यो तिमीसँग
शरिररलाई "बुलेटप्रुफ्" बनाएर के काम ?
सोमदत्त!
बच्चाहरुलाई औधी मन पराउथ्यौ तिमी
मायाँ पनि गर्थ्यौ क्यार!
तिम्रो फोहोरमैलो शरिर देखेर तर्सिसके उनिहरु
दुषित -प्रदुषित बागमतीका जलले
शिबत्व र बुद्वत्वलाई पखाल्दै तिमीलाई
ढुक्ढुकीको श्रद्वान्जली र सासका तर्पण पठाएका छन
सोमदत्त!
तिमीले आँफैसँग मुखामुख गरेर
कुरा गर्ने साहस जुटाएका छौ कहिल्यै ?
शायद छैनौ तिमीले
तिमीहुनुको बर्चस्व गुमाइसकेका छौ
आँफैले सल्काएको लाक्षIगृहमा
भस्मिभुत भैसकेका छौ
खोजेर आँफैलाई पाउँदैनौ
अब आफ्नो मलामि आँफै बन्नु पर्छ तिमीले
हेर त सोमदत्त!
न त तिम्रा पैतालाका छाप छन
न अघी कोही छन तिम्रा, न पछि
न क्षितिज छन तिम्रा, न आकाश
साँच्चै भन्या' सोमदत्त!
तिमी छैनौ अब
सुनचाँदी, हिराजावाहरत र
बिटाका बिटा नोटले भरेका तिम्रा सन्दुक
खोलेर हेर त बालुवै बालुवा छन
तिम्रा झरेका नङ्ग्रहरु छन
तिम्रा गिरेका नूरहरु छन
अरुलाई धरेका दागाहरु छन
रगतका सारा झूटा बाचा बन्धन मात्र छन
सोमदत्त!
कल्पनातित्,कमनिय कबिताका जूनेली झोलहरुले
सम्भवत्: तिम्रा मस्तिष्कका उन्मत्त कल्मष फिँजहरुलाई चिसाउन सकेन
मायाममतारहित
हृदयका चिसाकुण्डलाई
सुनौला घामहरुले तताउन पनि सकेन
कति सक्तिहिना छौ तिमी
र कत्ती सत्वहिन पनि छौ
थाहा छ तिमीलाई ?
सोमदत्त!
जिन्दगीका तितामिठा कथाहरुबाट
एकदम अलग्गिएका छौ तिमी
रामलोचना र फागुनियाका गौना हुन बाँकी कथाहरु
श्याम बहादुर र फूलामायाका तोङ्बाका मिठा सगुनहरु
पुग्नुपर्ने ठाउँमा पुगेका छैनन
ति आधा-अधुरा कथाका पात्रहरु
अँध्यारा आतन्य जङ्गलमा भटकिएका छन
यिनिहरु जाई-जुहिको तकियामा
इन्द्रेणी सपना सुत्दैनन आजभोलि
बारुदको सिरक भित्र बाहिरा
मान्छेको सुनगाभा फुलाउन सक्छौ ?
जवाफ देऊ सोमदत्त!
जवाफ देऊ!

कबयत्री- डा बानीरा गिरी
पोस्ट बक्स नं २४५९,काठमाडौं
नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin