kavita

कबिता




सबैले उमेरप्रति अति नै गुनासो पोखेपछि मैले पनि धरै पाइनः

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ
- पञ्च विस्मृत

क्यालेण्डरका पानाहरू कुल्चँदै
म उमेर
हुण्डरीको वेगमा भाग्दै गरेको देख्छु
मानौं कि एक निरपराध अपराधी
धोती फुस्काउदै
भाग्दै गरेको होस्

कहिले उमेर
एक विद्यार्थीको रजिस्टर खातामा
झोक्रिएर बसेको देख्छु
कहिले
एक शिक्षकको गालामा
मुजा परेर बसेको देख्छु
कहिले उमेर
एक प्रवासी सम्झौता पत्रमा
बुढो हुँदै गएको देख्छु
उफ् ।।। कहिले त उमेर फेसबुकको ‘शोकेस’मा
चाउरिंदै गएको तस्वीर सजाएर
मोलमोलार्इमा बसेका आँखाहरूमा भेट्छु

यो बहुरङ्गी उमेर
एक चिम्टी निंद निदाएर ब्यूँझेको मात्र के हुन्छ
विहान सखारै
घामको पहिलो किरणसँगै मेरो आयुको प्रतिवेदन पेश पर्दछ
केही अघि सर्न खोज्दा अबोध उमेर मेरो काखमा बस्छ
र हातभरी सिंगान पुछिदिन्छ
सुरूवालभरि सु गरिदिन्छ
यो उमेरको
ह्याङओभरको सिरकबाट उठ्न खोज्दा यो वेगी उमेर
अचानक उच्छिटिएर गएर एक छायाँजति
मलार्इ दाइ भन्छ, अङ्कल भन्छ
बा र हजुरबा भन्छ

र म आँखा मिच्दै फेरि
फेरि एकपटक
मजस्तै बुढ्यौलीले चपाउदै गएको
मेरो घरको भित्तोको क्यालेण्डरका पानाहरूमा
असन्तुष्टीको निरीह चोर औंलाले
हतारमा हिंडेको यो बटुवा जस्तो
आफ्नो आयुलार्इ निर्ममता पूर्वक घोंचिदिन्छु

आज फेरि एक पटक डायरीका पानाहरूलार्इ निर्वस्त्र पारेर
हिजोअस्ति भोगिछोडेका खोटहरूको हिसाब गर्नुछ
आज फेरि एक पटक उमेरको यो कुइनेटो पार गरेर
एक पियक्कडको भन्दापनि कच्चा एक प्रतिज्ञा गर्नुछ
आज फेरि एक पटक सबै साथी सङ्गीको हुलको ऐनामा
आफ्नो तथाकथित जवान उमेर, जवान अनुहार एकसाथ हेर्नुछ
र आज फेरि एक पटक यो पाक्दै गएको उमेरमाथि
एक हाते गुनासोको झटारो बजारेर
एक चम्ची थकथकीको तेलमा डुबेर आत्महत्या गर्नुछ

उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ
उमेर जसप्रति कहिल्यै नटुङ्गिने गुनासो छ ।

-पञ्च विस्मृत
१६ अगष्ट २०१३ दम्माम [KSA]

2 comments:

  1. Amazing blog Bhojpur. Two thumbs up!!!

    ReplyDelete
  2. Thank you kabi jyu, yahaharuko yastai gahakilaa kabitaako bhari uthaauna paau shubhakamana abm dhanyabaad.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin