
कबिता
अबउप्रान्त म स्पर्शमा होइन अनुभूतिमा हुनेछु........
सखी! मलाई नखोज्नु अब प्रलापी फाँटहरुमा,
एकतमासको मैदानबाट
खुत्रुक्क माथि उक्लेर,
म हिँडेकोहिँड्यै हुनेछु अनवरत..
निर्माण बिनिर्माणको कान्लो हुँदै
प्रयोगको तेर्पाङे उकालोहरु,
नखोज्नु मलाई बिसौनिहरुमा...
अबउप्रान्त म यात्रामै थकाई मार्नेछु ।
अनी,नखोज्नु बिचारका सग्ला रुपहरुमा,
दर्शनको मूलबाट
भङ्गालो छुटेपछी,
म एक अनेक हुँदै रहन्छु..
अपूर्णताको पक्षमा अवस्था टुक्र्याउँदै जोड्दै
स्वअस्तिवको पहिचानका खातिर,
नखोज्नु मलाई निरुपित सिम्रिक हरुमा...
अबउप्रान्त ब्रम्हाण्डको वापत म अनेक रंगमा घुल्नेछु ।
नखोज्नु मलाई निस्चित निर्धारित बिन्दुहरुमा,
यहाँ
त्यहाँ
छु
छैन
हुन्छु
हुँदिन
को बिचमा म हुनेछु..
अबउप्रान्त तिम्रो मनको पाखो देखि यत्रतत्र सर्बत्र हुनेछु ।
मलाई नियाल्न अब आँखा नच्यात्नु,
जीवनका रङ्गहरुमा
आँखा टम्म थुनेर
मनका औँलाले
रङ्गिलो खुशी छाम्नु..
अबउप्रान्त म स्पर्शमा होइन अनुभूतिमा हुनेछु ।
अनी सखी! नखोज्नु मेरा कृतिहरु धमिरे ढड्डाहरुमा,
समयको संघार उघ्रेकोबेला
फक्लेटो दैलो नाघेपछी
रहस्यै रहस्यको रङ्गिन मसीमा
संकल्पको निब चोबेर
म लेख्छु आरोहावरोहको पानैभरी,
नखोज्नु सावाँ अक्षरहरु दृष्यका कागजहरुमा...
अबउप्रान्त म सिर्जना दृष्यमा होइन दृष्टिमा गर्नेछु।।
-दीप्स शाह
काठमाडौं, नेपाल/
हाल: ईजरायल
Subscribe to:
Post Comments (Atom)
It's Amazing, words and feelings keep growing more.....
ReplyDeleteRanjanaa Shaah
Ktm nepal