कविता


फूलमाला लाउँनेछु ...!

दिदी तिम्रो घरमा सुके होलान्, सायपत्री र गोदावरी फूल।
हे मेरी चेली ! घर आउँन सकिन, नठान्नु हैं माइतीको भूल।।

अस्ति काग, जिजो कुकुर पूजा,आज लक्ष्मीको पूजा गरेउ होला।
दिदी! साँझबत्ती बाली सेलरोटी बनाई नाङ्लो र ढाकी भरेउ होला।।

आँगन भरी द्यौसे र भैली आउँदा तिम्रो धर्-धरी मन रुँदो हो !
पोहोर साल दिदीभाइ, द्यौसी र भैली गाको सम्झना आउँदो हो।।

भक्कानो फुटाई मन दु:खाउँदैछौ तिमी, म पनि हाँसेको कहाँ छुर?
भुलेर तिमीलाई म घर नआएको होइन, निष्ठुरी म पनि कहाँ हुँर?

जीवन जिउँन, जीवन धान्न, मैले त अर्काको आदेश मान्नु पर्छ।
सागरपारी छु म त ऐले, परदेशी हुनु मेरो कर्म नै ठान्नु पर्छ।।

भित्तामा झुण्डिएको फोटो झिकी, त्यही मलाई टिका लागाई देउ।
भाइ सञ्चै छ’रे चिन्ता नगर्नुस् भनी, आमालाई पनि सम्झाई देउ।।

भेट हुनेछ हाम्रो, मलाई हैजाले नलगे, दुश्मनको हात नपरे।
मेरी सानुको पनि हेरबिचार गरिदेउ दिदी, म तिमीसंगै भर् परे।।

परदेशी जीवन बिदा मिलेन यो साल, अर्को साल आउँने छु।
दु:ख र सुख साटासाट गरी, सँगसंगै द्यौसी र भैलो गाउँने छु।।
चेलीको हातको सप्तरंङ्गी टिका, फूलमाला लाउँनेछु, म माया साट्ने छु।।

- अर्जुन दुङ्मेन्,
बगदाद,इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin