kavita

कविता

" ह्याप्पी भ्यालेन्टाइन डे "

म गाउँमा हुँदा
सानै थिएँ
र स्कुलमा पढ्थें
त्यतिबेला
बुथुरी ले भन्थी
तिमी कत्ती जाती छौ है ?
सपनामा देख्छु तिमीलाई
जून जस्तै राम्री थी उ
मलाई फूल दिन्थी
झरिलो गुलाबको
र भन्थी-
तिम्रो मायाँ लागिरहन्छ मलाई
गाउँ छोडेर
मझौला शहर पसें
शायद म
अलिक जवान भएँ
र नै त
कलेज पढ्ने भएँ
त्यतिबेला
अङ्ग्रेजी सायरी लेखिएको
ग्रिटिङ्स कार्ड पठाएर
शिखा ले लेखी -
भ्यालेन्टाइन डे को दिन
तिमी सँग म
डेटिङ गर्न चाहन्छु
तिम्रो मुटु सँग मुटु साट्न चाहन्छु
अहिले म
वयस्क छु
झन् जवान छु
र शहर भन्दा पनि
अझ ठुलो
महा शहरमा छु
र यतिबेला
अर्धनग्न आभूषणमा
वर्थ डे पोज भन्दा
अलिक माथिल्लो
थोरै मात्र बिकसित
लघुवष्त्रमा
धडक्क धड्किदै
मेरो सम्मुखमै
रोजमेरी आउँछे
र झ्वाम्मै अङगालिन्छे
म निस्सासिएको हेक्कै नराखी
प्लास्टिक निर्मित मुटु
मेरो हातमा थमाउँछे
र भन्छे-
ह्याप्पी भ्यालेन्टाइन डे माइ स्वीट हार्ट
थाकेको मेरो मथिङ्गलले
ब्रम्हाण्ड परिक्रमा गर्छ
प्रेम प्रदर्शनको
यो शैली
माया गराइको
यो ढङ्ग
समय घर्कीरहेको छ
माया गर्नु र त्याग्नु
ओठमा च्यापेको
खैनी जस्तै
जीवन साथी फेर्नु
चप्पल फेर्नु जत्तिकै
उरालेर
परिवर्तनको नारा
अलापेर
आधुनिकताको राग
कहिल्यै नथक्नुको पराकष्ठा
अहिले-
प्रेम फुल्दैन
रोधी र हाक्पारेमा
सँस्कृति बोल्दैन मारुनी र सोरठीमा
यतिबेला -
थुप्रै सुनिताहरु
स्वीटी बनेर
थुप्रै चन्द्रमायाहरु
चाँदनी बनेर
अनि -
कयौं गाउँका माने हरु
माइकल को उपमा भिरेर
शहर पसेको बेला छ
म छोडिएको छु
जमाना सँग
म पिछडिएको छु
समय सँग
मैले नपचाएको
आयतित शब्दावली
मैले नरुचाएको
प्रायोजित वाक्यांश
हुन सक्छ
आफु सँग
'गर्ल फ्रेण्ड' नहुनुको
जबर्जस्त आदर्श
यद्दपी
सलाम त्यो प्रेम पूजारीलाई
युद्दका बिरुद्द
प्रेम र शान्तिका खातिर
बलिदानी बन्ने
सेन्ट भ्यालेन्टाइन लाई
र त्यही एउटा
ओजिलो सम्झनामा
समस्त नव जोडी हरुलाई
'ह्याप्पी भ्यालेन्टाइन डे । '

- गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग -४, भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

1 comment:

  1. सम्पुर्ण नेपाली दाजुभाई अथवा दिदिबहिनीहरुमा यो [VALETINES DAY]प्रेम-दिबसको उपलक्ष्यमा तपाईहरुको दिनहरु सदा सदा प्रेममय बनोस भन्दै शुभकामना ब्यक्त गर्दछौ,र गणेश जी मा पनि समय सापेक्ष रचना पेश गरिरहनु भएकोमा हार्दिक धन्यबाद and HAPPY VALETINES DAY
    तपाईहरुकै भोजपुरे ब्लग परिवार!

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin