घर फर्केको मान्छे
घरको मायाले
घर फर्केको मान्छे
आफै घर भएर आइपुगेछ
त्यही आँगन
त्यही बलेँसी
त्यही सिकुवा
त्यही साँझ
त्यही मूल ढोका
त्यही बार्दली
त्यही आँखीझ्याल
त्यही धूपीको रुख
त्यही गमलाको फूल
त्यही सपनाको हुल
त्यही ढिकी
त्यही जाँतो
त्यही जून
त्यही चुराको छुनछुन
त्यही परेवाको गुनगुन
घरको मायाले
घर फर्केको मान्छे
आफैँ घर भएर आइपुगेछ
पच्चीस वर्षपछि
आज
तिमी पच्चीस वर्षअघिको
निश्चल
त्यही घरको यो करुणामयी सँघार
कुल्चिँदै–कुल्चिँदै
भित्र पस !
अहा !
कति सुग्घर गगे्रटो
चौका, ताक, खोपी
र बलिरहेको प्रेमको
त्यही दीप !
त्यही दीपको उज्यालोले
तिमी
हेर उसलाई
जहाँ–
तिम्रो चलिरहेको
राताम्ये बाल–तस्वीर
बेगमबेली फूलको झ्याङभरि
चुपचाप मुस्कुराइरहेछ
सुस्तरी–सुस्तरी...
तिमी अझ
भित्र पस !
एकदम भित्र पस !!
कबि : श्रवण मुकारुङ
ठेगाना: दिल्पा, भोजपूर
कोशी, नेपाल
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)