कविता - मान्छेको नाभो
मनु लोहोरुङ

संखुवासभा नेपाल्

हाल: न्युयोर्क

मान्छेकै हूलमा मान्छे
थिचिएर मिचिँदो इतिहासमा
बत्तिमा होमिएको पुतली झैं
... आईमाईले आईमाई जलाएको कथा-
म स्वयं आईमाई भएर
निस्फिक्री सुनिरहेछु

लिंगले स्वयं लिंग कुल्ची मारेको
यो आईमाईको दुर्दशा मात्रै होइन
कि देशकै ठूलो दशा हो
म अवाक छु
मान्छेहरुका दोष/निर्दोष आँखाहरु
होडाबाजीमा पल्याकपुलुक गर्छन्
पिजडामा पालेको सुघा जस्तो
रटाउदैछ स्वतन्त्रताको गीत
"गोपी कृष्ण काउ"
'गोपीनी र कृष्ण बराबर हाउ-

अवसरको बल्छी थापेर
पिजडामा राख्दै चारो हाल्ने
मान्छेकै शिकारी मान्छेको कम छैन
वक्षमाथि कोपिला रहरहरु
फक्रिन नपाउँदै
किशोरी उन्मातबोध हुन नपाउँदै
अभिभावक धर्म
आँगन डढाएर डोली चढाउँन हतार हुँदा
कयौं गाउँमा यवौन अपदस्त भएको छ

महिला मुक्तिको नाराले
जूठो आहार र जुठोभाँडोबाट
मुक्ति कौमार्यतालाई
सामाजिक मान्यताहरुले छोपेर राख्दा
इप्साहरु उम्किएकोमौकामा
साँघुरो सोंचले मलाई
कैयन कोठीहरुमा अस्मिताको
नाङ्लो ब्यापार गर्न बाध्य बनाएको छ

अझै नियाँलेर हेर त !
मेरो यो अवानितलक अनकन्टार वस्तीहरु-
मखुण्डो मान्छेको बिल्ला
निरिह पारिजात अस्मिताहरुमाथि
निर्मम पाईतालाहरु दगुरी रहेछन्
धेरै रहरहरु कहरमा डुबेर
स्वतन्त्राको गीत सुनिरहेका छन्
यौन तृष्णाहरु गोप्य काकाकुल
मध्यरातमा खासुखुस गरीरहेछन्

समाजको बिंडो थाम्ने
एउटा छोरा नजन्माएको अपराधमा
'म आईमाई' आभिशाप्त जीवन
जिउन बाध्य बनाउने
ती छुद्र धर्म शास्त्रहरु
ती थुप्रै भलदमी सामाजिक खोलहरु-
बोक्सी भनेर जिउँदै जलाउँने
अर्ध चेतन समाजका परेडवालाहरु हो !
यो पुतली सो सरह शरीर
यो अदृश्य अग्नि कुण्डमा होमिएरै
ज्वालाले पुरुष प्रधनताका अवशेषहरु
डढाएर शेष पार्दै
अ/मान्छे बाँचेको स्वाँरा(बारी)मा
म स/मान्छे नाभो उम्रिन्छु

अन्तराष्ट्रिय महिला दिवसको उपलक्षमा देश/विदेशमा रहनु सम्पूर्ण नेपाली महिला दिदी बहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना !!!

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin