ह्वाइटहाउसमा सम्मानित हुँदा
१.
संसारकै सबभन्दा अग्लो देश नेपालको लेखक म
यतिखेर
होचो ह्वाइटहाउसको यो रातो कार्पेटमाथि उभिएर
संसारकै सबभन्दा साम्प्रदायिक गोराहरूको देश अमेरिकाका
सबभन्दा काला राष्ट्रपति
बाराक ओबामाको हातबाट सम्मान ग्रहण गर्न उभिएको छु ।
२.
जाबो एउटा लेखमा ओबामालाई बधाई के दिएथेँ
यत्रो सम्मान?
यत्रो पुरस्कार?
थेत् ! यो गोरो अमेरिका !
थेत् ! यी अमेरिकीहरू !
सुन ! अब यो खण्डहरमा म
सुन ! अब यो स्थितिमा म
सबभन्दा पहिले मेरो बाउलाई सम्झन्छु
जसले मलाई
मेरो देशजस्तै मेरी आमाको गर्भमै तुहाउन चाहान्थ्यो
जसले मलाई छोरो हो भन्ने कहिल्यै स्विकार गरेन
जो मेरी आमालाई हरक्षण बलात्कार गरिरहन्छ
जो हरघडी रक्सीले मात्छ
जो हरघडी मेरी आमाको नाककान लुछ्छ
कपाल लुछ्छ
र मेरी आमाको डिम्बमा
ऊजस्तै नालायकहरू मुत्छ
मेरो बाउलाई धन्यवाद !
साष्टङ्ग दण्डवत् पनि
किनभने
मेरो बाउ मेरो देशको नेता हो ।
३.
नायिका करिश्मा मानन्धरले साँधेको स्यण्डविच चाटेर अझ गोरा भएका यी मेगन फक्सहरू
कवि शैलेन्द्र साकारले माझेको ट्वाइलेट टल्किएर कविताजस्तो टल्किएका यी बृध्द हेमिङ वेहरू
गायक प्रेमराजा महतले धोएका पेन्टी र ब्रामा पपगीत भैसकेका यी केली क्लार्क्सनहरू
अचम्म छ !
मोरियार्टी छैन यो समारोहमा
र केही कमजोरी छ रौनकमा
थेत् ! बिन लादेनको नामबाटै त्राहिमाम यी नीला आँखाहरू
थेत् ! सद्दाम हुसेनको सालिकसँगै थर्थर यी सेता कपालहरू
थेत् ! हमिद कारजाईको भाषण सुन्दै लड्खडाएका यी टिनेजर ह्यारिसहरू
यतिबेला म सम्झिरहेको छु मेरो काठमाण्डू
अर्थात मेरो देशको राजधानी
जसले मलाई
अभाव, भोक, व्यस्तता र साम्प्रदायिकता सिकायो
उसलाई त मेरो सलाम पनि ।
४.
यो सम्मानको कति लायक हुँ ?
यो पाउँदरको कति हकदार हुँ ?
म आफै अचम्ममा छु
म आफै भ्रममा छु
यी ओबामा भाइको अत्तरमा पनि क्लिन्टन नै गन्हाउन थालेको छ
यी ओबामा भाइको चम्किलो कोटमा पनि बुस नै चम्कन थालेको छ
यिनको आँखाबाट निस्कने जिम्मी कार्टरले पनि मलाई नै लुछ्न खोजिरहेको छ
यतिबेला सम्झन्छु म कामरेड प्रचण्डलाई
जसले दस वर्षे जनयुध्द मात्र गरेनन्
मुक्तिका लागि
जाति व समुदायहरूलाई बन्दुक बोक्न पनि सिकाए
बन्दुकको कविता लेख्न्न सिकाए
धन्य छन् उनी !
तर भ्रम नहोस् !
पुष्पकमल दाहाल भने होइन ।
५.
यो बिबिसिको माइक्रोफोन
यो सिएनएनको क्यामेरा
यो अलजजिराको लाइभ ब्रोडकास्ट
एपि, पिटिभी केके हुन् केके !
म खोज्दै छु यतिबेला
नेपाल टेलिभिजनका महाप्रवन्धकको टिठलाग्दो खस अनुहार
जसले मलाई मेरो आदिवासी अनुहारकै कारण
उसको स्कृनम कहिल्यै देखाउन चाहेन
र जहिल्यै पारिएँ मिडिया गेटकिपिङमा
ओ सुधिर शर्माजी,
ओ युवराज घिमिरेजी,
ओ नारायण वाग्लेजी,
ओ कृष्ण ज्वाला देवकोटाजी,
कता पुग्दै छ हौ जनजातिको समाचार निषेध गरिएको हाम्रो पत्रकारिता?
६.
के के लेखिएन यत्रो लामो जिन्दगीमा ?
कति कति विद्रोह गरिएन र ?
वैचारिक अनेकानेक !
सांस्कृतिक वैविध्यता !
नश्लीय बोध !
कवित्व निस्सिमता !
अथवा सृजनात्मक निर्णय !
के के भनिएन ?
अराजकता : जो शासकहरूको परम्परागत सोचका विरुध्द
अराजकता : जो सत्ताको स्तुतिगानका विरुध्द
अराजकता : जो एकात्मक राज्यको विरुध्द
फुटाएकै हौँ एकल दर्शनको घैटो
पोखाएकै हौँ एकल भाषा, धर्म, लिपी र चिन्तनको पहेँलो पानी
लेखेका हौँ आदिवासीहरूको स्वतन्त्रताको गीत
ओ अभि सुवेदीजी,
ओ गोविन्दराज भट्टराईजी,
ओ सन्जीव उप्रेतीजी,
कहाँ थोत्रियो हौ प्राग-ऐतिहासिक साहित्यको ढुङ्ग्रोमा जबरजस्त घुसाइएको उत्तरआधुनिकता ?
७.
न गोरो
न कालो
न क्रिश्चियन
न हिन्दू
न त कुरानविरोधी कुनै मुसलमान नै हुँ म
के सम्झेर यो गरिएको छ कुन्नि मलाई ?
के सम्झेर पुरस्क्रित गरिएको छ कुन्नि किरात राज्यको यो किरातीलाई ?
के मलाई नेपालविरोधी बनाउन त लागिएको छैन ?
थेत ! ट्विन्स टावरमा भत्किएको यो अमेरिका
थेत ! बूढा कार्टर, क्लिन्टन र बुसहरूजस्तै यी ओबामा भाइ
अब अन्त्यमा म
ओसामा बिन लादेनलाई सम्झन्छु
जसले ट्विन्स टावर मात्र भत्काएन
सिङ्गै अमेरिका भत्कायो
अमेरिकाको डलर साम्राज्य भत्कायो
र अमेरिकाको सेखी झार्यो
यति भइसकेपछि
अब म आफैलाई साक्षी राखेर
यो नाथे गोरो सम्मान बहिस्कार गरेको घोषणा गर्दछु
धन्यवाद !
-राजन मुकारुङ
साभर - राजन मुकारुङका नोट हरुबाट
राजन गुरु कबिता लाई कमेन्ट गर्ने मेरो शब्द छैन तपाईंको सधैं निरन्तरताको कामना गर्दछु
ReplyDeleteअज्ञात